प्रथम हिमालयन गाईड पाथिभरा म्याराथोन
Organizer: पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समिति एवम् हिमालय गाईड्स
Date: १५ फाल्गुन, २०६५

समिति सदस्य नामावली

पाथीभरा देवी उत्पतिस्थल

फेदीबाट लेकाली अंगेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिंडेपछि तपाई पाथीभरादेवीको मन्दिर रहेको डाडाँको पश्‍चिमपट्टीको मुखमा फुत्त आईपुग्नुहुन्छ, त्यसबेला तपाईको आगमनको खबर पाएर टक्र्याक टुक्रुक बसेका कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमश्रृंखलाहरु साथैलिई स्वागतको लागि हतारहतार आएझैं भान पर्दछ । कुम्भकर्णको कुमसँग आफ्नो कुम ठोकिएलाकी भनी तपाई आनायस झस्कनु पनि हुन्छ । जतिसुकै थाके पनि वुरुक्क उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौं लाग्दछ । कञ्चनजंघाको भिरालो फाँटहरुमा चिप्लेटी खेल्ने रहर जागेर आउन सक्दछ । साँच्चै नै भन्नुपर्दा यी हिमश्रृंखलाहरुको मगमुग्धकारी अलौकिक दृश्यले सम्मोहित भई तपाई स्वर्गीय आनन्दको अनुभूतिमा डुब्नुहुन्छ, भावशून्य भएर आफैं-आफैंमा हराउनुहुन्छ ।

अब तपाईको ध्यान पाथीभरा मन्दिरतर्फ आकर्षित गरौं क्यार । दक्षिणबाट उत्तरतर्फ केही ओह्रालिएर गएको चउरीलो फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहालीलाग्दो भीरको शिरानमा सबै श्रद्धालुभक्तजनहरुको मनोकांक्षा पूरा गरिदिने देवी पाथीभराको मन्दिर अवस्थित छ । अब तपाई देवी पाथीभराको चरणमा उपस्थित हुनुहुन्छ । भनिन्छ — यहाँ रहेको पाथीभरा देवीको नयाँ प्रतिमा नेपाल अधिराज्यमै सबैभन्दा अग्लो (८'६") भगवतिको प्रतिमा हो । अब तपाई देवीको दर्शन तथा पूजा अर्चनाको तयारीमा लाग्नुहोस् ।

देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न पटक्कै नभुल्नुहोला । यदि केही समय निकाल्न सक्नुहुन्छ भने पाथीभराबाट कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर सुन्दर मोहनीलाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो क्यमरामा कैद गर्ने अवसर नगुमानुहोस् ।

 


© Pathibhara Devi Mandir Kshetra Sanrakshan Tatha Sambardan Samiti
Design and Maintained By Prabin Gautam