| उत्पतिसम्बन्धि
किम्बदन्ती तथा जनश्रुति
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती
तथा जनश्रुतिहरु छन् । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले
आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले
देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनिय
घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु
भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना
गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्त गोठालाहरुले देवीको आकृति
उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट
भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरु
जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्चर्यको कुरा,
बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन
पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरुले देवीको जय
जयकार गरे।
यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक
सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै
रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा
अवलोकन गर्न सक्दछन् । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा
यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली
देवी पाथीभराले भक्तजनहरुले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन्
भन्ने जनधारणा रहि आएको छ ।
आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं
विश्वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ ।
जसको परिणामस्वरुप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा
विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।
|